यी हुन् कृषि कर्ममै रमाउने गलकोटे मोहन

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, जेष्ठ १३, २०७६

http://www.nepatop.com.np/

पोखरा – गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । काम के भयो र हुँदैछ ? मन्त्री भन्छन्,‘भइरहेको छ ।’ पर्यटन वर्षसँगै काम हुनैपर्छ । प्रवद्र्धन सरकारकै मात्र त होइन नि ! त्यसलै बागलुङ गलकोट, आँगाखेतका मोहन केसी एक्लै आफ्नो गाउँको प्रवद्र्धनमा लागेका छन् ।

गाउँ प्रवद्र्धनको लागि गलकोटमा दुईवटा महोत्सव आयोजना गर्न भ्याएका उनी यतिबेला समग्र गाउँको प्रवद्र्धनको लागि बृत्तचित्र र सिनेमाको तयारी गर्दैछन् ।

‘हो हामी छिट्टै बागलुङका रमणीय ठाउँहरुको प्रचार गर्नेगरी एउटा फिल्म बनाउने तयारीमा छौँ’,उनले भने,‘त्यसको कथा तयार भएको छ, अब छिट्टै छायाङ्कन सुरु हुन्छ ।’

फिल्ममा देखाइने दृष्यले बागलुङका पर्यटकीय र ऐतिहासिक ठाउँहरुको प्रचार हुने र पर्यटनको विकास हुने उनले दावी गरे । उनका अनुसार सिनेमा बनाउन करिब ८० लाख खर्च लाग्नेछ । फिल्म मनोरञ्जनात्मकभन्दा पनि बागलुङलाई चिनाउने उदेश्यमा समर्पित रहने उनले बताए । जापान जाने अवसर छाडेर नेपालमै बस्दै आएका उनी पछिल्लो समय गीत संगीतको व्यवसायसँग पनि जोडिएका छन् ।

बागलुङ चिनाउने एक्लो यात्रा किन त ? उनी भन्छन्,‘पर्यटक गए उतै ( गाउँमै ) बसेर पर्यटनसँग जोडिएको व्यवसाय गर्ने धोको छ ।’मोहनको धोको त के के थिए के के !

उनी सधैँ आकारहीन सपना पछ्याउँथे । गाउँका साथीभाईहरु ‘लाहुरे’ सपना देख्दा उनी गाउँका पाखाहरुमा पसिनाको खेतीको तानाबाना बुन्थे । किसानी पिताको कर्मको निरन्ततामा उनी आफूलाई खुसी पाउँथे । त्यसैले उनले १६ वर्षको उमेरमै गाउँमै माछापालन गर्न पितालाई जोस्याए । माछासँगै उनको मन पोल्ट्री ‘फार्म’ खोल्न तानियो । माछापछि उनले गाउँमा बंगुर पाल्न पनि भ्याए ।

क्षेत्रीको छोराले बंगुर पालेको गाउँलेले के सहन्थे, उनलाई झण्डै छोइछिटोकै व्यवहार भयो, आफन्तहरुबाटै । तर, उनी डग्मगाएनन् । निरन्तर आफ्नो कर्ममा लागिरहे ।

पिता कमल केसीका छोरा मोहन २०६० सालकोतिर कलिलै थिए । पिता पनि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने । मोहनका अनुसार गाउँका सबै मान्छे जापान जाने लहर चलेको बेला पिता भने भिसा लागेर पनि जापान गएनन् ।

कृषि कर्ममै रमाए । पिताको छाप परेका मोहनको कलिलो मनमा केही गर्नुपर्छ भन्ने भावना भने थियो । त्यही भावनाले उनी पिताको माछा पालनलाई सघाउन थाले । कुलोको मुहानमै भएको खेतमा धान रोप्न छाडेर पिताले ३ वटा पोखरी बनाउँदा मोहनमा पनि गर्नुपर्ने यही रहेछ भन्ने भयो ।

‘पक्की पोखरीमा ग्रासकार्प, नैनी,मागुर जातका माछा थिए’, मोहनले भने‘आम्दानी पनि राम्रै थियो ।’ माछा पाल्दै गर्दा मोहनको मनमा बंगुर पाल्ने सोच पलायो । माछासँगै बंगुर पाल्दा माछालाई आहार पनि हुने सुनेपछि मोहनले पितासँग मिलेर २०६५ सालतिर बंगुर पाल्न थाले । बंगुर पाल्न सजिलो चाहिँ भएन । गाउँलेहरु क्षेत्रीको छोरा भएर बंगुर पालेको भन्दै खिसिट्युृरी गर्थे । तर मोहन डग्मगाएनन् ।

‘त्यो बेला भण्डै पानी नै बार्ने अवस्था पनि आयो’, मोहनले भने,‘हामीले वास्ता गरेनौँ बरु २०६९ सालतिर क्षेत्रीय पशु कार्यालय पोखराको परामर्शमा उन्नत जातका हिमसार र ल्यान्डेन्स बंगुर पाल्न थालियो ।’ उनका अनुसार त्यो बेला उको फार्मबाट वार्षिक २ सयवटा बंगुरका पाठा उत्पादन हुन्थे रे ।

पाठा नजन्मदै छिमेकी गाविस रीघा, काडेबास, पाण्डबखानी, दगातुन्डाडा, हरिचौर, हटिया, दुदिलाभाटी हिल तथा गुल्मीबाट समेत मानिस किन्न आउने गरेको उनले सम्झिए ।

अब मोहन आफै व्यवसाय हेर्ने भइसकेका थिए । उनले करिब ४ सय कुखुरा अटाउने खोर बनाए । पोखराबाट चल्लन लगेर कुखुरामै भाग्य अज्माए । कखुराले राम्रै आम्दानी दियो ।

‘गाउँका मान्छेहरु विदेश नगएर के गरेको होला भन्थे’, उनले सुनाए,‘मचाहिँ गाउँमै केही गरौँ भन्ने ध्याउन्नमा थिएँ ।’ उनी गाउँमै बस्थे । कुखरासँगै उनले टनेल बनाएर तरकारी लगाउन सुरु गरे । ‘तर,सोचेजस्तो नहुँदो रहेछ, हाम्रो काम देखेर कुनचाहिँ पापीले माछा पोखरीमा विष हालिदिएछ, माछा सबै मरे’, उनले भने,‘ मन भरङ्ग भयो ।’

गलकोटतिर जापान जानेहरुको संख्या ठूलो थियो । मोहनलाई ‘सके पो जापान जान्थ्यो १’ भनेर हेप्नेहरुलाई देखाउन मन लाग्यो । उनी कृषि पेशा पितालाई सुम्पँदै पोखरा झरे । कुकिङ र जापानी भाषा सिके । कृषकबाट कुक बनेका उनलाई जापानले भिषा नै दियो । तर, मन न हो, उनले भिसा लागेको पासपोर्ट नै च्यातिदिए । जीवनले नयाँ मोड लियो ।