‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, जेष्ठ ३, २०७६

http://www.nepatop.com.np/

काठमाडौं– एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

एनआईसीले १ हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपंैयाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको ‘एनआई सी एशिया ऋणपत्र २०८३/८४’ निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब ७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।