प्रचण्डलाई रामहरि खतिवडाको प्रश्न : कांग्रेस नभएको भए जंगलको कुन कुनामा हुन्थ्यौ ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, बैशाख ३१, २०७६

भोजपुर – बैशाख २५ गतेदेखि देशभर शुरू भएको हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियानको क्रममा भोजपुर जिल्लाको अरुण गाउँपालिकाको म्याउलीमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्व सांसद तथा नेपाली कांग्रेसको युवा नेता रामहरी खतिवडाले आगामी चुनाव कांग्रेसले जित्ने बताएका छन् ।

कार्यक्रममा उनले नारदमुनी ठुलुङ, दिवनसिंह राई लगायतलाई महान् व्यक्तित्वलाई सम्झिएका छन् । २०६४ सालको चुनावमा केपी शर्मा ओलीलाई झापामा एउटा सानो फुच्चेले हराएको र २०७० सालमा काठमाडौंमा प्रचण्डलाई कांग्रेसकै साथीले हराएको स्मरण गर्न निर्देश दिए ।

‘आज कांग्रेस नभएको भए तिमी प्रचण्ड मात्र होइन, रामबहादुर बादलहरू जंगलको कुना–कुनामा खोज्नुपर्थ्यो । ठेला गाडी चढेर अमेरिका पुग्नसक्नु र नेपालमा गणतन्त्र आउन एउटै हो भन्ने केपीलाई देशको प्रधानमन्त्री बनायौ, त्यो कुराको हेक्का राख्नु धेरै फुस–फुस गर्न थाल्यौ भने त्यहाँबाट झार्ने सक्ने शक्ति कांग्रेससँग छ,’ उनले भने, ‘कांग्रेसले गणितीय रुपमा हार्‍यो होला तर सैद्धान्तिक रुपमा जितेको छ । राजा र राणाको अन्त्य गर्दै हिजो ५४ दिनसम्म सदन घेरेर सदन चल्न नदिने एमाले र १२ वर्षसम्म युद्ध गरेको माओवादीलाई हामीले लोकतन्त्रिक पद्धतिमा ल्याएर चुनावी प्रक्रियामा सामेल गराई आज देशको राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री बनायौं । नेपाली कांग्रेस त्यस्तो शक्ति हो राणाहरूले सिध्याउन खोजे, राजाले सिध्याउन खोजे, माओवादीले खोजे । सकेन । त्यसैले नेपाली कांग्रेसको शक्ति सामु झुक्ने नै छ ।’

सरकारले जनतालाई ठूला–ठूला सपना बाड्दै ठूला–ठूला भ्रष्टाचार गरेको बताउँदै नेता खतिवडाले वाइडबडीको ४ अर्ब २५ करोड रुपैयाँदेखि बुढीगण्डकी ३०–४० अर्ब चाइनाको विवादित कम्पनीलाई दिएको बताए । ‘अरुण तेस्रो हाइड्रो पावर नबनाउन एडीबी विश्व बैंकलाई चिट्ठी लेख्छन् अनि अहिले हामीले गर्न लाएको भन्दै हिँड्छन्,’ उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा आफ्नै महासचिव मुछिएको छ । करोड होइन, अर्बाै–अर्ब लुटेका छन् सरकार हेरेर बस्छ । उल्टो रेल, तेल र पानीजहाजको ठूलो–ठूलो सपना बाँड्छ ।’

‘सम्पूर्ण हामी लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका सिपाहीहरू अब लोकतन्त्र रक्षाको लागि हरेकले आफ्नो घर, टोल, वडा, गाउँपालिका, नगर र जिल्लामा संगठन मजबुद बनाउन अनुरोध छ,’ उनले भने, ‘कांग्रेसले चुनाव हार्दा यहाँ नेपाली जनताको अधिकार खोसिएको छ, दिनदिनै बलात्कार, हत्याहिंसा र भ्रष्टाचार बढेको छ, यसको एउटै समधान नेपाली कांग्रेसले जित्नु नै पर्छ ।’