मन्त्रीको निधनपछि ओलीले गरे ‘अनपेक्षित’ घोषणा, कसले दियो अधिकार ?

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन १७, २०७५

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिद प्रक्रियामा निर्दोष रहेको घोषणा गरेको समाचार विभिन्न सञ्चारमाध्यममा आए ।

संसदको सार्वजनिक लेखा समितिले प्रारम्भिक अध्ययन गरेर प्रतिवेदन तयार गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला ओलीले निधन भएका मन्त्रीलाई निर्दाेष घोषणा गरेका हुन् । तर प्रधानमन्त्री ओलीलाई निर्दाेष घोषणा गर्ने अधिकार कसले दियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला प्रधानमन्त्री ओलीले यसरी घोषणा गर्दा छानबिन नै प्रभावित हुने आशंका समेत गरिन्छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संसदीय दलका सदस्य अधिकारीको शोक प्रस्ताव पारित गर्न बसेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारी निर्दाेष रहेको भनेको समाचार अन्नपूर्ण पोस्ट अनलाइनमा छापिएको छ ।

प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजको बताए । ‘यतिबेला अरु धेरै कुरा त केही भन्न चाहन्न, अत्यन्तै अनुचित ढंगले सरोकार नभएको बिषय वाइबडीमा जोडेर केही तत्वले उहाँलाई बद्नाम गर्न खोजे, जुन निराधार कुरा हो,’ ओलीले भने, ‘उहाँले कुनै लोभलालच गरेको होइन । वाइडबडीमा उहाँले केही गरेको पनि छैन, त्यो उहाँ मन्त्री हुनुभन्दा पहिलेको कुरा हो ।’

प्रम ओलीले सत्यको उजगार हुन नदिन असत्यको हल्ला चलाइएको भन्दै गुनासो गरे । ‘नेपाल यस्तो देश भएको छ जहाँ सत्य उजागर हुन नदिन वा सत्य ढाकछोप गर्न वा असत्यको हल्ला चलाएर सत्यलाई ढाकछोप गर्ने प्रवृति र रुची भएका मान्छेहरू छन् । त्यो धन्दा पनि चलिरहेको छ,’ ओलीले भने ।

वाइडबडीमा अधिकारीलाई आरोप लगाउनु दुःखद भएको भन्दै प्रधानमन्त्री ओलीले गुनासो व्यक्त गरे । ‘मलाई दुःख लाग्छ कि उहाँजस्तो कर्मठ, क्रियाशील मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरू लगाउने र अपमान गर्ने काम पनि भयो,’ ओलीले थपे ।

मन्त्री अधिकारीले नागरिक उड्डयनको क्षेत्रमा देखिने गरी असाधारण काम गरेको पनि प्रधानमन्त्री ओलीले बताए । छ वटा विमास्थलमा रात्री उडान, धनगढी, विराटनगर र चन्द्रगढी विमानस्थलको काम अघि अधिकारीकै सक्रियतामा अघि बढेको प्रधानमन्त्रीले प्रष्ट पारे । तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउन उपयुक्त हुने प्राविधिक प्रतिवेदन आएपछि आफैंले हेरेर आउने भनेर अधिकारी त्यसतर्फ गएका ओलीले बताए ।

‘तेह्रथुमको चुहानडाँडामा इन्जिनियरिङ सर्भे आदिबाट उपयुक्त ठाउँ छ, निर्माण गर्न सकिन्छ भन्ने रिर्पोट आइसकेपछि आफैं गएर हेर्ने र आफैंले हेरेपछि उपयुक्तता, अनुपयुक्तता छुट्याउने भनेर उहाँ जानुभएको थियो,’ ओलीले भने, ‘ढिलोमा तीन वर्षभित्र त्यहाँ विमानस्थल बनाइसक्ने मन्त्री अधिकारीको लक्ष्य थियो ।’

मन्त्री अधिकारी विमानस्थलको अध्ययन भ्रमणकै क्रममा बिहीबार जमर्नीको म्यूनिखमा जाने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीले बताए ।

‘हिजो उहाँ जर्मनीको बर्लिनतर्फ उड्दै हुनुहुन्थ्यो । त्यहाँ जानुको अर्थ पनि थियो, म्यूनिख एयरपोर्टसँग सिस्टर सम्बन्ध बनाउने, व्यवस्थित ढंगको एयरपोर्ट ह्याण्डिलिङ बनाउने, उहाँहरूसँग सहकार्य गर्ने योजना बनाउनु भएको थियो,’ ओलीले भने ।

अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए । दुर्घनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन क्षेत्रका एकजना हस्ती भएको प्रधानमन्त्री ओलीले बताए ।

यसैगरी उपसचिव युवराज दाहाल विकासलाई विभिन्न कोणबाट विश्लेषण गरेर योजना बनाउन सक्ने व्यक्ति भएको प्रधानमन्त्रीको भनाइ छ । निधन भएका अन्य व्यक्तिहरू पनि आफ्नो आफनो क्षेत्रका दिग्गज भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेकपा संसदीय दलको बैठकले दुर्घटनामा निधन भएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ । यसैगरी बैठकले मृतकका परिवारको लालनपालनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।