केपी ओलीका लागि नेकपाका कार्यकर्ताले गरे ठूलो चोरी ! कुलमान घिसिङको अग्निपरीक्षा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, फाल्गुन ८, २०७५

http://www.nepatop.com.np/

कैलाली – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको गफ दिइरहँदा उनैलाई खुशी बनाउन सुदूरपश्चिम प्रदेशको राजधानीमा ठूलो चोरी भएको छ ।

केपी ओली धनगढी पुगेका बेला उनको भाषण गर्न र कार्यक्रममा विद्युत् आपूर्ति गराउन विद्युत् चोरी भएको छ । कैलाली भ्रमणमा आएका प्रधानमन्त्री ओलीले बुधवार चोरिएको बिजुलीबाटै समृद्धि र विकासको भाषण गरे । तर बिजुली चोरेर भाषण गरेको थाहा पाएपछि सरकारी कर्मचारी भने हैरान भएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार, अनियमिता र चुहावटको विरोध गरिरहँदा उनी सहभागी कार्यक्रममै विद्युत् चोरी भयो । सत्तारुढ नेकपाले आयोजना गरेको कार्यक्रममा नै हाकाहाकी चोरीको बिजुली प्रयोग गरेर प्रधानमन्त्रीको सुशासनको प्रतिवद्धताको खिल्ली उडाइएको छ ।

सुदूरपश्चिमको प्रदेश सभालाई सम्वोधन गरेपछि प्रधानमन्त्री ओली धनगढीमा आयोजना गरिएको नेकपाका कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रममा सहभागी भए । ‘सुदुरपश्चिम प्रदेशस्तरीय विशेष कार्यकर्ता भेला’को आयोजना नेकपाको प्रदेश कमिटीले गरेको थियो ।

प्रधानमन्त्री ओली सहभागी रहेको सो कार्यक्रममा चोरीको बिजुली प्रयोग गरेर भाषणको प्रवन्ध गरिएको थियो । रंगशाला नजिकै आयोजना गरिएको कार्यक्रममा मिटरजडित घरबाट बिजुली ल्याउन सकिने वा जेनेरेटर प्रयोग गर्नुपर्नेमा सत्तारुढ नेकपाका कार्यकर्ताले बिजुलीको मूल लाइनबाटै हुक लगाएर माइक जडान गरेका थिए ।

केपी ओली नै सहभागी हुने कार्यक्रम भएपछि नेकपाका चोर कार्यकर्ताले ढुक्कसँग बिजुली चोरे । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले भाषण गरेका थिए ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् चुहावट नियन्त्रण महाशाखाका प्रमुख टेकनाथ तिवारी कार्यक्रम र सभा समारोहमा बिजुली हुकिङ गर्नु गैरकानूनी भएको बताउँछन् । उनले यस्ता प्रयोजनमा बिजुली आवश्यक परे सम्बन्धित क्षेत्रको वितरण केन्द्रमा अनुमति लिनुपर्ने व्यवस्था रहेको बताए ।

‘वितरण केन्द्रले अस्थायी मिटरको व्यवस्था गर्छ र त्यसमा उठेको बिल आयोजकले तिर्नुपर्छ,’ तिवारीले भने, ‘त्यसो नगरी हुकिङ गरिए, त्यो चोरी ठहररिन्छ ।’

प्राधिकरणका अनुसार अनुमतिविना नै बिजुली हुकिङ गर्दा उपयोग भएको बिजुलीको विल र जरिवाना आयोजकले तिर्नुपर्ने हुन्छ । अन्यथा कार्यक्रममा उपयोग भएको सामान पनि जफत गर्न सकिने प्रावधान छ । ‘यदि चोरी गरिएको बिजुलीको बिल तिर्छु भन्यो भने प्राधिकरणले उपयोगको अवस्था हेरेर बिल निर्धारण गर्न सक्छ,’ तिवारी भन्छन्, ‘यस्तो गैरकानुनी कामको जानकारी प्राप्त भयो भने प्राधिकरणले तुरुन्त कारवाही गर्छ ।’

सर्वसाधारणलाई तुरुन्त कारवाही हुने भएपनि प्रधानमन्त्रीकै सामुन्ने नेकपाका कार्यकर्ताले गरेको चोरीमा के कारवाही हुन्छ भन्ने हेर्न बाँकी छ । नेकपाका चोर कार्यकर्ताले प्राधिकरणमा सुधारको काम गरिरहेका कुलमान घिसिङ ठाडो चुनौती नै दिएका छन् ।