‘घोषणापत्र अनुसारको बजेट आएको छैन’, शीर्ष नेताहरूमा पलाएको दम्भ र घमण्डले ठूलो नोक्सानी हुन्छ : झलनाथ खनाल

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २, २०७५

काठमाडौं, २ असार – नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेताहरूमा पलाएको दम्भ र घमण्डले ठूलो नोक्सानी हुने चेतावनी दिएका छन् ।

 

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले शीर्ष नेताहरूमा पलाएको घमण्ड र दम्भ छिटोभन्दा छिटो अन्त्य हुनुपर्ने बताए ।

 

‘नेकपामा दम्भ र घमण्ड छैन’, उनले भने, ‘दम्भ र घमण्ड व्यक्ति हुन्छ । शीर्ष नेताहरूमा त्यसको छनक देखिएको छ ।’

 

नेता खनालले तत्कालीन वाम गठबन्धनको घोषणापत्रमा भनिए अनुसार बजेटमा कार्यक्रम नआएको स्वीकार गरे ।

 

‘घोषणापत्र अनुसारको बजेट आएको छैन । त्यो सत्य हो’, उनले भने, ‘निर्वाचनका बेला वृद्ध भत्ता पाँच हजार बढाएर हातहातमा पु-याउने भनेका थियौँ ।’

 

वरिष्ठ नेता खनालले वजेटले धेरै कुराहरू छुटाएको पनि बताए । उनले भने, ‘छुटेका कुरालाई समावेश गर्नुपर्छ । सुधार गर्नुपर्छ ।’