सांसदलाई ज्यान मार्ने धम्की दिँदै दस करोडको माग गर्ने ‘टोले गुण्डा’ प्रहरी फन्दामा

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १८, २०७४

काठमाडौँ

जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली मनोज पुनको नाममा फिरौती माग्ने चार जनालाई पक्राउ गरेको छ ।

गत मंसिर २५ गते देखि प्रदेश सांसद विन्दुकुमार थापा, कालु गुरुङ, बोधराज गिरी र मनकामना केबलकारका संचालक राजेशबाबु श्रेष्ठलाई धम्क्याउने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा स्याङजाको पुतलिबजार ६ टक्सार घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ जरेबर बस्ने ३५ वर्षका नल बहादुर गुरुङ (शंकर), स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ४ घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ जरेबर बस्ने २६ वर्षका अमृत खड्का,२३ वर्षिय शिव कार्की र पर्वतको कुस्मा नगरपालिका वडा नं. १० घर भै हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ बस्ने २७ वर्षका रामु सुवेदी रहेका छन् ।

उनीहरुले सांसद विन्दुकुमार थापासँग दुई करोड र कालु गुरुङसँग दस करोड फिरौती मागेको र फिरौती नदिए ज्यान मार्ने धम्की दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले जानकारी दिए।