प्रधानन्यायाधीश पराजुलीले अधिवक्ता भण्डारीलाई ज्यानको धम्की दिएको खुलासा, भण्डारीले दिए निवेदन

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, माघ १७, २०७४

काठमाडौँ

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै अधिवक्ता डा. सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्याल काठमाडौंमा जिउज्यान सुरक्षा सम्बन्धी निवेदन दिएका छन् । डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका कारण पराजुलीले आफ्नो ज्यान लिने धम्की दिएको भन्दै भण्डारीले जिउज्यान सुरक्षाको माग गरेका हुन् ।

उनले बुधवार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै निवेदनसमेत दिएका छन् । ‘प्रधान न्यायाधीश गोपाल पराजुलीका विवादित कार्यहरुका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा वहस पैरवी गरेको आधारमा प्रतिशोध साँधी प्रधान न्यायाधीश गोपाल पराजुलीले सो मुद्दाको वहस सकिनासाथ मिति २०७४÷९÷२६ गते अन्दाजी ५.३० बजे तथा उहाँको सम्बन्धमा नागरिक दैनिकमा गत बिहीबार मेरो लेख प्रकाशित भएपछि सोही दिन बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको,’ भण्डारीले निवेदनमा भनेका छन् ।

त्यसैगरी माघ १६ गते २ बजे केही मानिसउलाई आफ्नो शंखमुलस्थित घरमा पठाई पुनः धम्की दिएको हुँदा आफ्नो ज्यानमा प्रधान न्यायाधीशबाटै खतरा भएको हुनाले शान्ति सुरक्षाको माग गरेका छन् ।