म कसरी पढाउ ?

-दीपक एम.सी. प्रकाशित : शनिबार, माघ २६, २०७५

http://www.nepatop.com.np/

(कविता)

बिद्यालयको दैलो छिरेको
पहिलो दिनमा परिचय हुनुपर्ने,
तर यहाँ आफ्नो नाम र ठेगाना
बताएर पुग्दैन।
मेरो नाम भन्दा पहिले
यहाँ सोधिन्छ:
तपाईं कुन पार्टीको?
मेरो योग्यता,
मेरो क्षमता,
मेरो दक्षता-
सबै ओझेलमा पर्छ्न,
मैले कुन दल समर्थन गर्छु
कसको रसिद काट्छु
भन्ने कुराको अगाडि!
अनि म कसरी पढाउ?

म हिड्दा पाइला लामो,
पढाउदा आवाज ठूलो,
आवाज बचाएर राख्नुपर्छ रे।
उर्जा जोगाएर राख्नुपर्छ रे!
बर्षौ बिताउनु छ रे!
आफुलाई नै रित्ताउनु छ रे!
मैले बकम्फुसे गफमा भाग नलिएकाले
म बकवास लाग्न सक्छु।
म त कागको बथानमा बकुल्लो हु रे!
मैले आफ्नो कर्तव्य निर्वाह गर्दा पनि
कुनै अपराध गरे जस्तो!
मलाई डर लाग्छ-
केही गल्ती पो गरे कि!
नाइटमेयर मात्रै चलिरहन्छ,
अग्नि मात्रै जलिरहन्छ,
अनि म कसरी पढाउ?

राज्यको मर्यादाक्रममा
अटाउदैन शिक्षक।
आफ्नो आकालझुकल
काम पर्ने हाम्रै विद्यार्थीको अभिभावक
कर्मचारीको जयजयकार गर्छन् ।
उनैका बच्चालाई-
नियमित पढाउने,
ज्ञान बाड्ने
पथप्रदर्शन गराउने –
शिक्षकलाई
फर्केर हेर्दैनन्!
समाजमा तुलना हुन्छ-
योगदानको हैन- कमाइको।
आफू भन्दा पछि नियुक्ति लिएको
खरिदारले शहरमा घर खरिद गर्छ।
यता आफ्नो महङ्गीले
पसीना झर्छ।
कलम उहीँ बर्षौ पुरानो
फेरिन्छ मसी मात्रै!
कोही महिनै पिच्छे फेर्छन
सपना, लक्ष्री, मोबाइल, गाडी अनि के के!
सबै उनीहरूकै पछि लाग्छन् ,
विद्यार्थी समेत भन्छ
सर तपाईं बाहिर किन जानुहुन्न?
म त ठूलो भएर जान्छु
पैसा कमाउछु!
अनि म कसरी पढाउँ?

मेरो कामको मूल्यांकन गर्नेले,
खै कस्तो चस्मा लगाएका छन्?
खै के देख्छन्?
न त नतिजा हेर्छन्,
न त पृष्ठपोषण नै दिन्छन।
लाग्थ्यो कोही पनि पूर्ण हुदैनन् ,
(म पनि)
यहाँ त सबैले आफ्नो पूर्णताको,
भ्रम छर्न मात्रै खोज्छन्
पुत्ला जलाएर आफ्नो-
वास्तविकताको!
लाग्थ्यो र लाग्छ पनि शिक्षण त
सिक्ने सिकाउने प्रक्रिया हो।
बरु विद्यार्थीबाटै सिकिएला,
अह अन्यत्रबाट हैन!
सच्चा मित्र त अबोध
विद्यार्थी छन्!
राज्यले जस्तो विभेद गर्दैनन्
आफ्नै अभिभावक जस्तो
मुन्टो बटार्दैनन्,
समाजले जस्तो तुलना गर्दैनन्
यथार्थताको धरातलमा छ्न्
सहानुभूति राख्छन्
र त सोध्छन् –
“सर, तपाईंलाई के भयो?
तपाईलाई आज सन्चो छैन?
कति दुख गरि रहनुहुन्छ?”
यिनै छन् र त
पढाइरहेको छु,
यिनै सँग रमाइरहेको छु।
यिनैलाई सिकाइरहेको छु।
यिनैबाट सिकिरहेको छु।

(एम. सी. गौमुखी मा वि, प्युठानका माध्यमिक तहका शिक्षक हुन।)